
काठमाडौ । विश्व प्रेस स्वतन्त्रता दिवस २०८२ मे ३ को दिन विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ ।
सर्वप्रथमतः यो दिनमा प्रेस स्वतन्त्रताका पक्षमा लडाइँ लड्ने योद्धाहरूको विशेष सम्मान व्यक्त गर्दछु । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आधारभूत सिद्धान्त, प्रेस स्वतन्त्रताको समग्र अवस्थाको समीक्षा र स्वतन्त्रताको प्रतिरक्षा एवं पत्रकारिता पेशा निर्वाहको क्रममा जीवन उत्सर्ग गर्नेहरूप्रति श्रद्धा व्यक्त गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधरहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
विश्वमा र अझ नेपालमा पछिल्ला दिनहरुमा प्रेस स्वतन्त्रताविरोधी घटनाहरु तिव्र रुपमा बढिरहेका छन् । नेपालमा मिडिया र मिडियाकर्मीमाथि बढ्दो खतरा छ । यस वर्ष ७१ वटा प्रेस र अभिव्यक्ति स्वतन्त्रता उल्लंघनका घटना भएका छन् ।
२ जना पत्रकार सुरेश भुल र सुरेश रजकको हत्या, ६ जनासहितको ३ जना पत्रकारको गिरफ्तारी र अदालतको अवहेलनासम्बन्धी, ३ वटा सूचनाको अवरोध, २ वटा उपकरण नियन्त्रणमा लिने घटना, र २४ जना पत्रकार र मिडिया संस्थालाई लक्षित गर्दै गरिएका २२ वटा धम्की र त्रासका घटनाहरू छन् । यसमा सरकार र सरोकारवालाहरूले गम्भीर रूपमा लिएकै छैनन् ।
हत्या गरिएका पत्रकारको घटनाबारे राज्यले छानविन गरी दोषीलाई अहिलेसम्म कारवाही गर्नै चाहेको देखिदैन । प्रेस स्वतन्त्रताविरोधी घटनाका विरुद्ध र स्वतन्त्रताका पक्षमा थप प्रतिबद्धता जनाउँदै प्रेस स्वतन्त्रताको आन्दोलनलाई अझ सशक्त बनाउन अपरिहार्य भएको छ ।
यो दिन प्रेस स्वतन्त्रताको रक्षा गर्न, पत्रकारहरूमाथि हुने दमनको विरोध गर्न र सत्यको पक्षमा कलम उठाउनेहरूको सम्मान गर्न मनाइन्छ । हाम्रो देश नेपालमा स्वतन्त्र पत्रकारितामाथि झन् बढ्दो दमन, मुद्दा र मानसिक यातना खेप्नुपरेको यथार्थ अत्यन्तै पीडादायी छ ।
पत्रकारिता केवल सूचना प्रवाह होइन । यो शासनको निगरानी गर्ने, जनताको आवाज बुलन्द गर्ने र गलतसँग जुध्ने साहसी कर्म हो पत्रकारिता । तर जब पत्रकारलाई रोक्ने प्रयास गरिन्छ । जब सत्य बोल्नेहरूलाई जेल पुर्याइन्छ, तब प्रश्न उठ्छ ? के लोकतन्त्र साँच्चै ज्यूँदो छ ?
व्यक्तिगत अनुभव र प्रतिबद्धता, किन म जेल जान तयार छु
२०७५ साल पुस १९ गते मैले साईपाल पोष्ट डटकममा समाचार लेखेँ, घुमुवा प्रहरीको मिलेमतोमा भइरहेको लागूऔषधको तस्करीको विषयमा । त्यो समाचार प्रकाशित भएपछि मलाई प्रहरी प्रशासनले नियोजित रूपमा पक्राउ गर्यो । मलाई ‘विद्युतीय कारोबार ऐन २०६३’ को नाममा काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइयो । पत्रकारिता गर्नेलाई तस्करजस्तै व्यवहार गरियो भयो नेपाल प्रहरी र नेपाल सरकारबाट ।
त्यसपछि २०७९ सालमा खप्तडटिभीमा ‘हनिट्रयाप काण्ड’ को समाचार लेखेँ, जुन समाचार नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँबिरुद्धकाे थियो । सत्य समाचार लेखेकै कारण फेरि सोही ऐन अन्तर्गत मुद्दा हालियो ।
खप्तडटिभीमा २०८० मा नेकपा (एकीकृत समाजवादी)की केन्द्रीय सदस्य रुक्मति जागरीको भिडियो प्रकरण उजागर गरें, फेरि मुद्दा हालियो मलाई ।
खप्तडटिभीमा २०८० कै अर्को समाचार, राजधानीको पुतलीसडकस्थित सिन्सियर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभको अनियमितता बारेमा समाचार लेख्दा, गाली बेइज्जतीको मुद्दा चलाईयो ।
मेरो यात्रामा भोगेका यी सबै घटनाले के देखाउँछ भने सत्य लेख्ने पत्रकारलाई निरुत्साहित पार्ने नियोजित रणनीति चलिरहेको छ । यद्यपि म यस्ता कार्यले डराएको छैन र भोलिको दिनमा पनि डराउँदिन । यदि पत्रकारिता गरेकै कारण जेल जानुपर्छ भने म तयार छु । किनभने सत्य लेख्नु मेरो पेशा मात्र होइन, धर्म हो।
सामाजिक सन्दर्भ, सत्ताले पत्रकारमाथि गर्ने दमनको चर्चा
नेपालमा प्रेस स्वतन्त्रताको अवस्था झुटो दरबारजस्तै बनिसकेको छ । देखावटी छ, तर भित्र गुँडिएको दमन छ । ‘लोकतन्त्र’ को नाममा चुनाव हुन्छ सरकार बनिन्छ तर पत्रकारको कलम रोक्ने काम गरिन्छ ।
‘विद्युतीय कारोबार ऐन २०६३’ पत्रकारमाथि अंकुश लगाउने मुख्य हतियार बनेको छ । यो ऐन मूलतः साइबर अपराध नियन्त्रणका लागि बनाइएको हो, तर अहिले सत्ताधारीहरूलाई असहज लाग्ने समाचार लेख्ने पत्रकारलाई जो–कसैलाई यो ऐनमा फसाउने क्रम बढ्दो छ ।
सत्तामा बस्नेहरू चाहन्छन्न , पत्रकारहरू केवल प्रेस विज्ञप्ति टाँस्ने काम गरून् । शक्ति र अन्यायविरुद्ध कलम नचलून् । जब पत्रकारले यथार्थ देखाउन थाल्छ, तब उनीहरू अपराधीकरणको सूचीमा राखिन्छन् ।
मूल्य र नैतिकता, पत्रकारको धर्म र समाजप्रति उत्तरदायित्व
पत्रकारिता कुनै सजिलो पेशा होइन । सत्य लेख्न, खोज गर्न र सशक्तहरूलाई सवाल सोध्न आँट गर्नुपर्छ । पत्रकारिता गर्नेले न त कुनै पार्टीको पक्ष लिन सक्छ, न कुनै संस्थाको बाचाउ गर्न सक्छ । ऊ त केवल निमुखा जनताको पक्षमा उभिने काम मात्र गर्छ ।
जब मैले लागूऔषध तस्कर देखेँ, मैले लेखेँ । जब मैले सहकारीमा भ्रष्टाचार देखें, म चुप लाग्न सकिनँ । किनभने म जनताका लागि लेख्छु सत्ताका लागि होइन । मलाई जेल हाल्ने, मुद्दा लगाउने, बदनाम गर्ने प्रयास भइरहन्छ, तर म पछि हट्दैन र मेरो कलम बन्द हुर्दैन ।
पत्रकारिता भनेको प्रतिरोधको चेतना हो । जब राज्य असफल हुन्छ, जब न्याय प्रणाली मौन बस्छ, तब पत्रकारले प्रतिकार गर्छ । यदि यो प्रतिकार अपराध हो भने, म त्यो अपराध बारम्बार गर्न तयार छु ।
चेतावनी र आह्वान
आज विश्व प्रेस स्वतन्त्रता दिवसको दिन, हामीले केवल औपचारिकता निभाउने होइन, आत्ममूल्यांकन गर्नुपर्छ । सत्ताले पत्रकारमाथि थोपर्ने दमनविरुद्ध हामी एकजुट हुनुपर्छ ।
पत्रकारको कलम कमजोर भए देशको लोकतन्त्र मरिन्छ । सत्ताले पत्रकारको आलोचनालाई आशीर्वाद ठान्नुपर्छ, न कि अपमान यदि जनताले प्रश्न गर्न छाडे, यदि पत्रकारले लेख्न छाडे, त्यो दिन तानाशाही जन्मिन्छ ।
अन्त्यमा, म यो खुलेर भन्न चाहन्छु:
यदि समाचार लेख्नु अपराध हो भने, म अपराधी हुँ ।
यदि सत्य बोल्नाले जेल जानुपर्छ भने, म जान तयार छु ।
किनभने यो मेरो पेसा होइन, मेरो संकल्प हो।
– गणेश विक
कार्यसमिति सदस्य
नेपाल पत्रकार महासंघ, जिल्ला शाखा काठमाडौं ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्