
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यही साउन १५ गते प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन् ।
आज नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रदेशसभाको बैठकमा दलका नेता एवं मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन सर्वसम्मत निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
यसैबिच कांग्रेस संसदीय दलको बैठकपछि प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित रही मुख्यमन्त्री शाह पक्षमा मतदान गर्न ह्विप जारी गरिएको छ ।
सरकारमा सहभागी दल नागरिक उन्मुक्ति पार्टीले गत असार २० गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । नाउपाले समर्थन फिर्ता लिए पनि शाह नेतृत्वको सरकारसँग बहुमत कायम छ ।
तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाबमोजिम यही साउन १७ गतेभित्रमा मुख्यमन्त्रीले विश्वासको मत लिइसक्नुपर्छ ।
नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारीमा रहेका रामेश्वर चौधरीलाई आर्थिक पारदर्शिता र सुशासन कायम गर्न मुख्यमन्त्रीबाट भएको आग्रह बेवास्ता गरिएपछि उनलाई पदमुक्त गरिएको थियो ।
लगत्तै सो पार्टीको संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । प्रदेश सरकारका मन्त्री पदमुक्त भएको यो घटनापछि प्रतिनिधिसभामा, सो पार्टीको संसदीय दलले पनि सङ्घीय सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जनाएको थियो ।
प्रदेशसभामा चौथो ठूलो दल नाउपाका सात प्रदेशसभा सदस्य छन् । ५३ सदस्यीय प्रदेशसभामा सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका १८ र नेकपा (एमाले)का ११ प्रदेशसभा सदस्य छन् ।
प्रमुख विपक्षी नेकपा (माओवादी केन्द्र)सँग ११, नेकपा (एकीकृत समाजवादी)सँग चार (एक निलम्बित), एक राप्रपा र एक स्वतन्त्र सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्