काठमाडौँ- उपसभामुख इन्दिरा रानाले आफूबाट कुनै अनैतिक कार्य नभएको बताएकी छिन्।
अमेरिकी राजदूतावासलाई अन्तर्वार्ताको लागि अगाडिको मिति राखिदिन अनुरोध गरेको भन्दै प्रश्न उठेपछि शुक्रबार विज्ञप्ति जारी गर्दै उनले आफूले पदको गरिमामा आँच पुग्ने कुनै कार्य नगरेको स्पष्ट पारेकी हुन्।
डेढ वर्ष अगाडि एउटा एनजीओको कार्यक्रममा अमेरिका जाने क्रममा अन्य व्यक्तिहरूलाई समेत लैजान खोजेको र त्यसका लागि अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि रानामाथि प्रश्न उठेको छ।
रानाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गत वर्ष २०२३ को मार्च महिनामा UN Commission on Status of Women (UN CSW) सम्मेलनसँगै समानान्तर रूपमा आयोजना हुने NGOCSW 67 मा सहभागिताको लागि म लगायत अन्य सहभागीलाई आएको निमन्त्रणा स्वीकार गरी अमेरिका जाने क्रममा यात्रा गर्नुपर्ने समयावधि अत्यन्त छोटो रहेको तर राजदूताबासमा अन्तर्वार्ताको मिति लिन लामो समय कुर्नुपर्ने अवस्था रहेको अवस्थामा मैले मसँगै उक्त कार्यक्रममा सहभागी हुन जान निमन्त्रणा आएको र उक्त कार्यक्रममा मेरो लागि सहयोगी समेत भैदिने हुनाले अन्तर्वार्ताको लागि मिति लिइदिन अनुरोध गरेपछि मैले नेपालस्थित संयुक्त राज्य अमेरिकाको राजदूताबासलाई अन्तर्वार्ताको लागि मिति राखिदिन अनुरोध मात्र गरेको थिएँ’, उनले विज्ञप्तिमा भनेकी छन्, ‘कसैलाई भिसा दिने वा नदिने स्वःनिर्णय राजदूताबासले आफ्नो नीति र प्रक्रिया बमोजिम गर्ने नै हुन्छ। मैले कसैको भिसाको लागि अनुरोध पनि गरेको छैन।’
उक्त सम्मेलनमा सहभागी भइसकेपछि पनि आफूले अन्य कार्यक्रमको सिलसिलामा अमेरिका लगायत अन्य मुलुकको यात्रा गरिरहेको उनको विज्ञप्तिमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्