images
images
  • प्राधिकरणले लेखा समितिमा टीओडी मिटरको ५० हजार पेज विवरण पठाउँदै

    काठमाडौं‌– नेपाल विद्युत प्राधिकरणले लेखा समितिमा डेटिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत प्रयोग गरेको उद्योगहरूको टीओडी मिटरको डेटा समेटिएको करिब ५० हजार पेजको विवरण बुझाउन लागेको छ ।

    प्राधिकरण स्रोतका अनुसार प्राधिकरणले लेखा समितिमा आज (बिहीबार) नै सो विवरण बुझाउन लागेको हो । व्यापारीहरूको प्रभावमा प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जामन्त्री दीपक खड्का र सार्वजनिक लेखा समितिका सभापति ऋषिराज पोखरेलले बर्खास्त गर्ने कदम चालेपछि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ५० हजार पानाको टीओडी मिटरको विवरण समितिमा पठाउन लागेका हुन्‌ ।

    नेपाल विद्युत प्राधिकरणका अनुसार मुलुकमा चरम लोडसेडिङ भएका बेला २०७२ माघदेखि २०७५ बैशाखसम्म ठूला ५७ उद्योगले डेडिकेटेड फिडर र ट्रङ्कलाइनबाट दिनको चौबीस घण्टासम्म खपत गरेको विद्युतको ८ अर्ब ४ करोड ७४ लाख २३९ रुपैयाँ २२ पैसा महसुल तिर्न बाँकी छ ।

    विद्युत महसुल प्रकरणमा सरकारले गठन गरेको लाल आयोगले नै ०७२ माघदेखि ०७५ वैशाखसम्मको विद्युत महसुल उठाउन मार्गप्रशस्त गरिसकेको छ । तर, व्यापारीहरूको लबिइङमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई नै बर्खास्त गर्न सक्दो प्रयास गरिरहेको छ ।

    प्रधानमन्त्री ओलीको निर्देशन र व्यापारीहरूको आग्रहमा ऊर्जामन्त्री दीपक खड्काले यसअघि नै प्राधिकरण सञ्‍चालक समितिका दुई सदस्यहरू भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाइसकेका छन्‌ । पुन र आचार्यले महसुल नतिर्दा लाइन काटिएका उद्योगका प्रधानमन्त्री ओलीको ठाडो निर्देशनअनुसार लाइन जोड्न गरिएको निर्णयमा असहमति जनाएका थिए ।

    डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादमा घिसिङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगाउने निष्कर्षसहितको प्रतिवेदन संघीय संसद्को सार्वजनिक लेखा समितिले तयार पारेको थियो । लेखा समितिका सभापति एमाले सांसद्‌ ऋषिराज पोखरेल हुन्‌ ।

    उनी समितिले अर्बौं बक्यौता नतिरेपछि लाइन काटिएका उद्योगमा बिजुली जोड्नु भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशन कार्यान्वयनमा अटेरी गरेको भन्दै घिसिङलाई अख्तियार लगाउनुपर्ने निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो ।

    घिसिङसहित प्राधिकरणको नेतृत्वविरूद्ध सार्वजनिक लेखा समितिले अख्तियारसँगै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मार्फत पनि छानबिन गरिनुपर्ने समितिको प्रतिवेदनमा उल्लेख छ ।

    समितिको उक्त प्रतिवेदन गत शुक्रबारको बैठकमा पारित गराउने कोसिस समिति सभापति पोखरेलले गरेका थिए । तर उनको उक्त प्रयासमा सत्तारुढ नेपाली कांग्रेस र प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसदरहरूले साथ दिएनन् ।

    महसुल नतिरेका उद्योगी/व्यापारीहरूले प्राधिकरणसँग टीओडी मिटरको तथ्याङ्क नै नभएको र कुलमान घिसिङले मनलाग्दी बिल पठाएको जिकिर गरिरहेका छन्‌ ।

    त्यसैको जवाफमा प्राधिकरणले समितिका सदस्यहरूलाई अध्ययन गर्न नै हप्तौं लाग्ने ५० हजार पृष्ठको टीओडी मिटरको तथ्याङ्कको भारी प्रमाणका रूपमा दिन लागेको हो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै