images
images
  • लुम्बिनीका मुख्यमन्त्री आचार्य एमाले संसदीय दलको नेता चयन

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री चेतनारायण आचार्य चयन भएका छन्।

    एमाले लुम्बिनी प्रदेश संसदीय दलको आज बसेको बैठकले यसअघि नै मुख्यमन्त्री बनेका आचार्यलाई संसदीय दलको नेता चयन गरेको हो ।

    संसदीय दलका नेता रहेका पूर्वमुख्यमन्त्री लीला गिरीले दलको नेताबाट राजीनामा दिएपछि रिक्त रहेको दलको नेता पदमा मुख्यमन्त्री आचार्यलाई चयन गरिएको हो ।

    दलका उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउने पार्टीको निर्णयप्रति असन्तुष्ट गिरीले गत साउन ७ गते संसदीय दलको नेताबाट राजीनामा दिएका थिए।

    मुख्यमन्त्री आचार्यलाई संसदीय दलको नेता चयन गरेको बैठकले उपनेतामा रुपन्देहीका भोजप्रसाद श्रेष्ठलाई चयन गरेको छ । श्रेष्ठ एमाले लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष हुन्।

    यसैगरी बैठकले दलको प्रमुख सचेतकमा रुपन्देहीका तुल्सीप्रसाद चौधरी र सचेतकमा रोल्पाकी यमुना रोका तामाङलाई चयन गरेको छ । चौधरी यसअघि पनि प्रमुख सचेतक नै रहेका थिए।

    एमाले संसदीय दलको आजको बैठकमा नेता गिरीको पूर्वनिर्धारित कार्यक्रमअनुसार रुपन्देही बाहिर भएकाले बैठकमा सहभागी नभएको गिरीको सचिवालयले जनाएको छ । एमाले दलको बैठकमा एमाले प्रदेश कमिटी इन्चार्ज एमाले सचिव पद्मा अर्याल सहभागी भएकी थिइन्।

    लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ गरी ५६ जनाको समर्थनमा साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले भदौ ४ गते विश्वासको मत लिने भएका छन्। विश्वासको मत प्रयोजनका लागि प्रदेशसभाको बैठक आह्वान भइसकेको छ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै