images
images
  • तीन विद्यार्थी संगठनले भने– सत्ता गठबन्धनका विद्यार्थी गुण्डाहरुलाई कारबाही होस्

    काठमाडौं । विभिन्न तीन विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयमा सत्ता गठबन्धनका विद्यार्थी संगठनले अराजकता मच्चाएका आरोप लगाएका छन् ।

    त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूमाथि हमलाको प्रयास र प्राध्यापकहरूलाई धम्की आएको भन्दै अखिल क्रान्तिकारी, अनेरास्ववियू, अखिल समाजवादीले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

    उक्त विज्ञप्तिमा सङ्गठनहरूले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको समाजशास्त्र केन्द्रीय विभागमा सत्तारुढ पार्टी निकटको विद्यार्थी संगठनका नेताले आफ्‌नो अनुकूलको विभागीय प्रमुख नतोकिए जे पनि हुन सक्छ भन्ने दिएको धम्की दिइएको बताइएको छ । त्यसपछि उपकुलपति, रेक्टर र रजिस्ट्रार कार्यालय जान नसकिरहेको र सत्तारुढ पार्टी समर्थित नै अर्को एक जना विद्यार्थी नेताले विश्वविद्यालयले लिने परीक्षामा चिट चोराउन नदिएको भन्दै सरस्वती क्याम्पसमा खटिएका परीक्षा निरीक्षकको छातीमा समातेर पछारेका जस्ता घटनाप्रति संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    विज्ञप्तिमा भनिएको छ ‘यी दुवै घटनाको घोर भर्त्सना एवं निन्दा गर्दछौ । खासगरी विद्यमान सत्ता गठबन्धन बने यता विभिन्न ढंगबाट विश्वविद्यालयको गरिमामाथि आँच आउने र यसको विकासमा बाधा पुग्ने अत्यन्त गलत अभ्यास, प्रवृत्ति र क्रियाकलाप दोहोरिनु आपत्तिजनक छ । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिले प्रधानमन्त्री केपी ओलीको ठाडो हस्तक्षेपमा राजीनामा दिएको घटना यसको पछिल्लो उदाहरण हो । सत्ता समर्थित पार्टीका भातृ संस्थाका सरकार र प्रशासन संरक्षित यस्ता घृणित कार्यबाट ज्ञान उत्पादनको केन्द्रमा प्राध्यापकहरूले नै ज्यान जोगाउन कठिन हुने अवस्था सिर्जना हुनु र विश्वविद्यालयमा आतंकको स्थिति सिर्जना हुनुको पछाडि सरकारको स्पष्ट संलग्नता पुष्टि भएको छ ।’

    यस कुरालाई केही समय अघि प्राध्यापक प्रेम चलाउनेको ज्यान लिने गरी आक्रमण गर्ने व्यक्तिहरूलाई कारबाही गर्नुको सट्टा झन् प्रोत्साहन गरिनुले अझ प्रमाणित गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    संयुक्त विद्यार्थी सङ्गठनहरूको त्रिभुवन विश्वविद्यालयमा भइरहेको सरकार संरक्षित आतङ्क अविलम्ब बन्द गर्न, देशका सबै विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर्न र प्राध्यापकहरूमाथि आक्रमण गर्ने गुन्डाहरूलाई पक्राउ गरी कडा कारबाही गर्न विशेष माग गरेको छ ।

    विश्वविद्यालयको प्राज्ञिक वातावरण बिगार्ने, प्राध्यापक, शिक्षक एव कर्मचारीमाथि दुर्व्यवहार गर्ने र विश्वविद्यालयको सुशासनतर्फको यात्रालाई रोक्न गरिने जुनसुकै षडयन्त्रका विरुद्ध सशक्त प्रतिरोध गर्ने बताएको छ ।

    सङ्गठनहरूले त्रिविमा भइरहेको पछिल्लो नाङ्गो हस्तक्षेप, गुण्डागर्दी र राज्य संरक्षित आतकका विरुद्ध भाद्र ७ गते शुक्रवार बिहान ११ बजे त्रिवि कीर्तिपुरमा संयुक्त विरोध प्रदर्शन गर्ने जानकारी दिएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै