images
images
  • अर्थ मन्त्रालयले फाइल नै खोल्दैन,प्रधानमन्त्रीसँग कुरा राख्छु : मन्त्री यादव

    काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले वर्षेनी खानेपानी मन्त्रालयको बजेट घट्दै जान थालेको बताएका छन् । खानेपानी मन्त्रालयले बुधवार मन्त्रालयमा आयोजना गरेको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन् ।

    आफुहरुले पठाएका फाइल अर्थ मन्त्रालयले नखोलेको बताउँदै उनले भने,“गर्न नसकिने कामका फाइल यो कारणले नसकिने भनेर लेखेर फिर्ता पठाइ दिए पनि हुन्थ्यो नी ! यो विषयमा अब प्रधानमन्त्रीसँग कुरा राख्छु ।”

    उनले नेपाली जनतालाई शुद्ध एवं सफा खानेपानी वितरण गर्नु मन्त्रालय र सम्बद्ध पक्षको प्रमुख दायित्व भएको बताए । मन्त्री यादवले जनतालाई शुद्ध खानेपानी वितरण गर्ने पहिलो प्राथमिकतासहित आफूले काम गर्ने बताए ।

    उनले भने, “पानी जीवनका लागि नभइ नहुने चिज हो, पर्याप्त बजेट नभएका कारण त्यही पानी पनि जनतालाई खुवाउन सकिएको छैन । त्यसैले हाम्रो पहिलो उद्देश्य जनतालाई शुद्ध खानेपानी वितरण गर्नु हो भनेर सबैले मिलेर काम गर्नुपर्छ ।”

    मन्त्री यादवले जनताका जायज मागलाई मन्त्रालयले आवश्यकताका आधारमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । यसैगरी उनले चुरे दोहोन तथा जलवायु परिवर्तनका कारण खानेपानीका स्रोत सुक्दै जाँदा अनेकन समस्या आउन थालेको बताए ।

    मधेसमा चुरेको दोहनका कारण चापाकलमा पानी नआएको उल्लेख गर्दै पानीका स्रोत सुकेर देखिएका समस्या समाधानका लागि देशभरि नै जलस्रोतको अध्ययन गरेर आवश्यक काम गर्नुपर्ने मन्त्री यादवले बताए ।

    कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा.जयबहादुर टण्डन, मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यलगायत कर्मचारीको सहभागिता रहेको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै