images
images
  • माओवादी नेतृत्वको सरकारले थालेको सुशासनको अभियान इतिहासमै पहिलो रेकर्ड हो : प्रचण्ड

    सुर्खेत– नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्ध थालेको कदम अहिलेसम्मकै पहिलो रेकर्ड भएको बताएका छन् ।

    पार्टीको कर्णाली प्रदेशस्तरीय परामर्श बैठकलाई सुर्खेतमा सम्बोधन गर्दै उहाँले सरकारी स्तरमा थालिएको सुशासनको अभियान यो नेपालमै पहिलो भएको बताएका हुन् ।

    ‘सुशासन, सामाजिक न्याय र आर्थिक विकासको मूल संकल्पसहित मेरो नेतृत्वको सरकार १९ महिनासम्म चल्यो’, उनले भने, ‘यी तिन वटै क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भए अझ मुख्य गरी सुशासनको क्षेत्रमा नयाँ रेकर्ड नै स्थापित भएको छ ।’

    ‘यति उच्चस्तरबाट अघि बढाइएको भ्रष्टाचारविरुद्धको सरकारी अभियान अहिलेसम्मकै पहिलो हो’, अध्यक्ष प्रचण्डले भने, ‘सबै खालका भ्रष्टाचारको फाइल खोल्दै ललिता निवास, बाँसबारीसहित देशका विभिन्न स्थानमा भूमाफियाहरुले व्यक्तिका नाममा बनाएको सरकारी जग्गा पुनः सरकारकै नाममा ल्याउनु चानचुने विषय थिएन ।’

    माओवादी संख्याले सानो हुँदाहुँदै पनि भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा यति ठूलो अभियान चलाएको देखेर विरोधीहरूमा छटपटी पैदा भएको उल्लेख गर्दै उनले भने, ‘यसबाट जनता उत्साहित हुँदै थिए तर दलाल पुँजीपति, माफिया र सामन्तवादका अवेशेषहरुमा आतंक सिर्जना भयो । पछिल्लो समय नक्कली भूटानी शरणार्थी प्रकरणका फरार अभियुक्त पक्राउ परेपछि कांग्रेस र एमालेको एकथरि नेतृत्वमा छटपटी नै पैदा भयो । त्यसकै परिणामस्वरुप रातारात सहमति गरेर सरकार बनाइएको घाम जत्तिकै छर्लङ्ग छ।’

    आजदेखि सुरु भएको कर्णाली प्रदेशस्तरीय परामर्श बैठक भोलिसम्म चल्ने छ । केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत माओवादी केन्द्रले परामर्श बैठक गर्दै आएको छ । अहिलेसम्म बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी  र सुदूरपश्चिम प्रदेश गरी पाँच प्रदेशको परामर्श बैठक सम्पन्न भइसकेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै