images
images
  • डेंगीबाट ४ र नयाँ भाइरस इन्सेफलाइटिसबाट ३ जनाको मृत्यु

    काठमाडौँ । डेंगीका कारण यस वर्ष नेपालमा ४ जनाको ज्यान गएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सो जानकारी गराएका हुन् ।

    मन्त्री पौडेलका अनुसार ६ हजार ८३१ जनामा डेंगु संक्रमण भएको र ७५ जिल्लामा फैलिएको छ । डेंगी नियन्त्रणका लागि सबै तहका सरकारसँग मिलेर समन्वयात्मक ढंगका गतिविधिहरू अघि बढाइरहेको मन्त्री पौडेलले बताए । त्यस्तै झाडा पखालाका कारण बाँके जिल्लाको नरैनापुर गाउँपालिकाको वडा नम्बर ३ मा ४ जनाको मृत्यु भएको र जसमा एउटै परिवारका ३ जना रहेका छन् ।

    सोको कारण पत्ता लगाउने काम भइरहेको स्वास्थ्यमन्त्री पौडेलले बताए । जापनिज इन्सेफलाइटिस नयाँ प्रकोपका रुपमा नेपालमा भित्रिएको र जसबाट चितवन र कैलालीमा ३ जनाको मृत्यु भइसकेको बताए । उनले जापनिज इन्सेफलाइटिसको शङ्कास्पद केसको संख्या ६२७ रहेको छ । त्यस्तै २८ जनामा पुष्टि भइसकेको पनि मन्त्री पौडेलले जानकारी दिए ।

    मन्त्री पौडेलले भने ‘अहिले पछिल्लो समय हाम्रो बढी जोडिएको र सावधानी अपनाउनुपर्ने विभिन्न विषयहरूमध्येमा सरुवा रोग, महामारीजन्य रोगहरूको बारेमा विभिन्न विषयहरू बाहिर आइरहेको छ । यसमा तथ्यगत अवस्था कस्तो छ भने अहिले डेंगी ६ हजार ८३१ जना यो रोगबाट संक्रमित हुनुभएको छ । ४ जनाको मृत्यु भएको छ । यो ७५ जिल्लामा फैलिएको अवस्था छ । यसलाई हामीले नियन्त्रण गर्नका निम्ति सबै तहका सरकारसँग मिलेर समन्वयात्मक ढंगका गतिविधिहरू अघि बढाइरहेका छौँ । झाडा पखालाको सन्दर्भमा बाँके जिल्लाको नरैनापुर गाउँपालिकाको वडा नम्बर ३ गेलीमा ४ जनाको मृत्यु भएको र एकै परिवारको तीन जनाको मृत्यु भएको अवस्था छ । यसको कारण के हो रु पत्ता लगाउने प्रयास भइरहेको छ । जापनिज इन्सेफलाइटिस यसको पनि प्रकोप देखिएको स्थिति छ । यसको शङ्कास्पद केसहरूको संख्या ६२७ रहेको छ । निश्चित भएको २८ छ । ३ जनाको मृत्यु भएको छ, कैलाली र चितवनमा । त्यसैले यो नयाँ अर्को प्रकोप पनि देखिएको छ ।’

    मन्त्री पौडेलले सातै प्रदेशमा क्यान्सर उपचार सेवा बिस्तार गर्ने योजनाअनुसार अघि बढिरहेको बताए । उनले सिंहदरबार वैद्य खानालाई थप स्तरोन्नति गरी २० किसिमका आधारभूत आयुर्वेदिक औषधिको उत्पादन गर्नेगरी काम सुरु गरिएको जानकारी दिए । उनले वीर अस्पतालमा सुविधा सम्पन्न जलन उपचार वार्ड सञ्चालनमा ल्याइने गरी तयारी गरिरहेको बताए । जलन उपचार सेवामा १ लाख दिने व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयले अर्थमन्त्रालयलाई सिफारिस गरेको बताए ।

    यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा। रोशन पोखरेलले जापनिज इन्सेफलाइटिसमा नियमित खोप कार्यक्रम सञ्चालन गरेको बताए । उनले प्रकोप भएका बेलामा खोप लगाउन नहुने जानकारी गराएको पनि बताए । छुटेको र पाँच वर्षसम्मको बालबालिकालाई खोप लगाइरहेको बताए । बंगुर र हाँस पालनबाट जापनिज इन्सेफलाइटिस देखिएको उल्लेख गरे । लामखुट्टेबाट आयो भनेपनि सुँगुर, बँगुर र हाँस पालनबाट आएको जानकारी दिए ।

    सचिव पोखरेलले राज्यले वर्नरसिप लिएको कार्यक्रमको सिर्जित दायित्व राज्यले नदिँदा काम गर्न कठिन भएको बताए । उनले स्वामित्व लिइसकेपछि पूरा गर्नुपर्ने बताए । आमा सुरक्षा कार्यक्रममा सिर्जित दायित्व पूरा गर्न नसक्दा काम गर्न कठिन भएको बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै