काठमाडौं । विद्यार्थी बेचेर कमिशन खाने कन्सल्ट्यान्सी र विदेशी कलेजहरुलाई कार्बाही गर्ने अखिल (क्रान्तिकारी)ले चेतावनी दिएको छ । मंगलबार २३ औं राष्ट्रिय सम्मेलनका निर्णयहरु सार्बजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा क्रान्तिकारीले शिक्षामा भएको विकृति, विसंगतिको अन्त्य तथा त्यसको सुधारका लागि संघर्षका कार्यक्रमसमेत सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा नवनिर्वाचि अध्यक्ष विरेन्द्र शाहले आफ्नो कार्यकालमा नेपाली शिक्षामा भएको विकृति विसंगतिमाथि अत्याधिक प्रहार गर्ने बताएका छन् । अध्यक्ष शाहले शिक्षामा व्यापारीकरण, माफियाकरणसँगै वैदेशीक हस्तक्षेप बढेको बताउँदै भने,“विदेशी सम्बन्धनका नाममा विद्यार्थी लुट्ने मात्रै नभएर नीति–नियममा नरहने अनि देशमाथि हस्तक्षेप गर्ने षड्यन्त्रविरुद्ध हाम्रो निगरानी हुनेछ ।”
सामुदायीक शिक्षलाई कमजोर बनाउने खेलप्रति आक्रोष व्यक्त गर्दै अध्यक्ष शाहले मन्त्री, सांसद, राजनीतिक दलका नेताहरू, उच्च पदस्थ कर्मचारीहरु, प्राध्यापक, शिक्षकहरुले लगानी गरेको निजी विद्यालयका विरुद्ध संघर्ष गर्ने बताए । उनले सरकारका उच्च पदस्त व्यक्तिहरुले आफ्ना छोराछोरीहरु अनिवार्य सरकारी विद्यालयमा पढाउनु पर्नेसमेत जोड दिएका छन् ।
उपाध्यक्ष रुपा बुढामगरले निजी शैक्षिक संस्थाभित्र विभिन्न बहानामा व्यापार गर्ने, नियमअनुसारको छात्रवृत्ति नदिने, चर्को शुल्क असुली गर्ने लगायतका कार्य तत्काल नरोकिए आन्दोलन गर्ने चेतावनी दिईन् ।
महासचिव उषाकिरण विश्वकर्मा‘आजाद’ले निजी शैक्षिक संघसंस्था चलाएर जनतालाई लुट्ने कार्य भइरहेको बताउँदै भने,“सरकारका उच्चपदस्त व्यक्तिहरुले नै सार्वजनिक शिक्षालाई कमजोर बनाएका छन् ।” आफूहरुले शिक्षामा भएको अत्याचारको अन्त्य गर्न जुनसुकै हदमा जाने चेतावनी दिदै आजादले भने,“हामी सुरुमा कलममार्फत संघर्षको सुरुवात गर्छौ नभए हतियारसम्म उठाउन कसैले रोक्दैन ।”
धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा(बहुमत) निकट सो अखिल (क्रान्तिकारी) को मङ्सिर २८ देखि ३० गतेसम्म पोखरामा भएको २३ औं राष्ट्रिय सम्मेलनले संगठनका निवर्तमान अध्यक्ष मिलन राईलाई विदाई गरेर विरेन्द्र शाहलाई अध्यक्ष चयन गरेको थियो ।
सो राष्ट्रिय सम्मेलनले शाहको नेतृत्वमा ७५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो । सम्मेलनले उपाध्यक्षमा रुपा बुढा मगर र डिबी बुढाथोकी, महासचिवमा उषाकिरण आजाद, सचिवहरुमा गोविन्द विष्ट, डिबी शाही, प्रेमप्रशान्त बोहोरा, रमेश सुनार र हरि विष्ट, त्यसैगरी कोषाध्यक्ष कमला परियार निर्वाचित गरेको जनाएको छ ।
केन्द्रीय सदस्यहरु – पारस राहादी मगर, लक्ष्मी शाह, रविना सथशंकर, गगन परियार, पदम विक, मिम ऐडी, राजन साउद, सर्जन पाण्डे, सन्देश सापकोटा, निशान कटुवाल, आयुष घिमिरे, अमर रसाइली, छत्र विक, बज्जीर नेपाली, भरत परियार, दिनेश नेपाली, लक्ष्मी पाण्डे, विनोद जप्रेल, विष्णु महर्जन, विरेन्द्र नाथ, विरेन्द्र नेपाली, शिव सदाशंकर, सन्ध्या देवकोटा, सक्षम विश्वकर्मा, स्टालिन बस्नेत, सोमपाल कामी, सुवास सिग्देल, हस्त विक, राहुल विश्वकर्मा, अनिल खत्री, अनिशा राई, आकाश गौतम, आरती नेपाली, उज्वल बलम्पाकी मगर, किरण गौतम, डिबी परियार, दर्शन नेपाली, नरेन्द्र विश्वकर्मा, निशा कार्की, निशान विश्वकर्मा, पेमा तामाङ, बासु बुढा, बिमला गिरी, भैरव रावत, मन्दिरा घलान, मेघराज स्माईली मगर, रमिता थारु, राजेश नेपाली, रामदेव कुमार महरा, रुपेश पौडेल, लक्ष्मी दर्जी, विकल राई, विवेक मयाल, सन्जु राई, समीर विश्वकर्मा, सविन घिमिरे, सुजन पोख्रेल, सुजन यादव, सुनिता विश्वकर्मा, सुप्रीया नेपाली, सुरेश नेपाली रहेका छन् ।
प्रेस वक्तव्य
हाम्रो महान तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन २०८१ मङ्सिर २८ देखि ३० गतेसम्म पोखरामा सम्पन्न भयो । संगठनका निवर्तमान अध्यक्ष क. मिलन राईको अध्यक्षतामा उद्घाटन सत्र र संगठनका निवर्तमान सचिव तथा अध्यक्ष मण्डलका अध्यक्ष क. रामबहादुर तिरुवाको अध्यक्षतामा बन्दसत्र समारोह सम्पन्न गरियो । हाम्रो मातृ पार्टी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव क. धर्मेन्द्र बास्तोला ‘कञ्चन’ द्वारा उद्घाटित कार्यक्रममा पार्टी महाधिवेशन आयोजक समिति सदस्य, संगठनका पूर्वकेन्द्रीय अध्यक्ष तथा फ्र्याक्सन ईन्चार्ज क. शरद रसाईली, पार्टी महाधिवेशन आयोजक समिति सदस्य, कार्यालय सचिव तथा संगठनका पूर्वमहासचिव क. दिपेन्द्र चलाउने, पार्टी महाधिवेशन आयोजक समिति सदस्य तथा ४ नम्बर व्यूरो ईन्चार्ज क. अनन्त, विभिन्न पार्टी निकट मित्र विद्यार्थी संगठनका अध्यक्ष एवम् प्रतिनिधिहरु, हाम्रो पार्टी निकट जबस÷ मोर्चाका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति रह्यो । देशभरिबाट उपस्थित प्रतिनिधि ÷ पर्यवेक्षक कमरेडहरुको सहभागीतामा सम्मेलनबाट निर्वाचित नयाँ नेतृत्व,पारित नयाँ निति, योजना तथा कार्यक्रमहरुको सार्वजनिकिकरणका लागि यो प्रेस वक्तव्य जारी गरिएको छ ।
२) २३ औं राष्ट्रिय सम्मेलनले वैज्ञानिक समाजवादी शिक्षा, वैज्ञानिक समाजवादी क्रान्ति, वैज्ञानिक समाजवादी सत्ताको बारेमा नेतृत्व, कार्यकर्ता र आमविद्यार्थीको वैचारिक चेतनास्तर उठाउन नियमित अध्ययन संस्कृति, प्रशिक्षण तथा स्कुलिङ अन्तरक्रिया, गोष्ठी आदि योजनावद्ध र व्यवस्थित रुपमा संचालन गर्ने निर्णय गरेको छ ।
३) ‘जनताका छोराछोरी, अखिल (क्रान्तिकारी)’ को मर्मअनुसार जहाँ विद्यार्थी, त्यहाँ संगठनको निती सहित आमविद्यार्थीलाई वैज्ञानिक समाजवादी शिक्षाको पक्षमा गोलबन्द र संगठित गर्ने निर्णय गरेको छ ।
४) संघर्षका कार्यक्रमहरु ः–
क. विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर मापदण्ड विपरीत सन्चालित क्याम्पसहरुमा भएको मनपरी भर्ना प्रक्रिया , छात्रवृत्ति नदिने प्रवृत्ती लगायतका शैक्षिक बेथिति , विद्यार्थी ÷अभिभावकबाट मनोमानी ढङ्गले गरिएको शुल्क असुली र लुटपाटका विरुद्धमा विरुद्ध संघर्ष गर्ने ।
ख. विद्यार्थी बेचेर कमिसन खाने, विदेश पठाउने, म्यानपावर कम्पनीजस्तै काम गर्ने, विद्यार्थीलाई विदेश जान उत्प्रेरित गर्ने कन्सल्टेन्सी तथा कलेजहरू खारेज गराउन सङ्घर्ष गर्ने ।
ग. विदेशी बोर्डबाट संचालित विद्यालयहरुको दादागिरी, मनपरी र लुटका विरुद्ध संघर्ष गर्ने ।
घ. सरकारी विद्यालयमा हुने नियमित पठनपाठनको समस्या, शैक्षिक सामग्रीको अभाव लगायत पठनपाठनको माध्यम अंग्रेजी भाषालाई बनाउने र त्यही बहानामा शुल्क उठाउने कार्यका विरुद्ध संघर्ष गर्ने । साथै पठनपाठनको माध्यम निजी र सार्वजनिक विद्यालय नेपाली गराउन अभियानात्मक संघर्ष गर्ने ।
ङ. निजी शैक्षिक संस्थाभित्र विभिन्न बहानामा व्यापार गर्ने, नियमअनुसारको छात्रवृत्ति नदिने, चर्को शुल्क असुली गर्ने लगायतका कार्य विरुद्ध सङ्घर्ष गर्ने ।
च. प्रधानमन्त्री, मन्त्री, सांसद, राजनीतिक दलका नेताहरू, उच्च पदस्थ कर्मचारीहरु, प्राध्यापक, शिक्षकहरुले लगानी गरेको निजी विद्यालयका विरुद्ध संघर्ष गर्ने । साथै राज्यबाट सेवासुविधा लिने सबै व्यक्तिहरुका छोराछोरी सरकारी शिक्षण संस्थाहरु पढाउन दबाव सिर्जना गर्ने ।
छ. शिक्षामा राज्यको कुल बजेटको २०% रकम व्यवस्था गराउन अभियानात्मक ढंगले संघर्ष गर्ने ।
ज. विद्यालय तथा क्याम्पसहरुमा सफा शौचालय, शुद्ध खानेपानी, व्यवस्थित लाइब्रेरी तथा ल्याब , ईन्टरनेटको सहज उपलब्धताका लागि संघर्ष गर्ने ।
झ. पूर्व प्राथमिक विद्यालयको शिक्षामा सुधारका लागि संघर्ष गर्ने ।
ञ. माध्यमिक तह र उच्च शिक्षामा सापेक्षित जनमुखी शिक्षा ऐन ल्याउन संघर्ष गर्ने ।
ट. विश्वविद्यालयमा हुने राजनीतिक भागबण्डा र पार्टीको कार्यकर्ता भर्तीकेन्द्र बनाउने परिपाटीको अन्त्य गर्न सङ्घर्ष गर्ने ।
ठ. आङ्गिक क्याम्पसमा भएको निजी कार्यक्रमलाई सरकारीकरण गर्न संघर्ष गर्ने ।
ड. वार्षिक रूपमा पाठ्यक्रम र प्रकाशन गृह परिवर्तन गरी विद्यार्थी लुट्ने निजी शैक्षिक संस्था, कमिसन दिएर पाठ्यपुस्तक बेच्ने प्रकाशन गृह र कमिसन खाएर स्वीकृति दिने पाठ्यक्रम विकास केन्द्रविरुद्ध निर्मम र सशक्त सङ्घर्ष गर्ने ।
ढ. प्राविधिक शिक्षाको विकास र विस्तारसंगै सिटिइभिटिमा भइरहेको अनियमितता, कमिशनको चलखेल र भ्रष्टाचारविरुद्ध सङ्घर्ष गर्ने ।
ण. मेडिकल शिक्षामा भइरहेको माफियाको दादागिरी, लुटपाट र अत्याचारकाविरुद्ध निर्मम सङ्घर्ष गर्ने ।
त. नेपालको माटो सुहाउँदो वैज्ञानिक पाठ्यक्रम निर्माणका लागि संघर्ष गर्ने ।
थ. पूर्ण समानुपातिक स्ववियुको लागि संघर्ष गर्ने ।
द. विद्यार्थीलाई स्वास्थ्योपचार, मनोरञ्जन, सूचना संचार र सार्वजनिक महत्वका स्थानहरुमा अनिवार्य ५०% सहुलियतका लागि संघर्ष गर्ने ।
ध. त्रिभुवन विश्वविद्यालयको जमिन हिनामिना र देशभरिका सार्वजनिक÷सरकारी शिक्षण संस्थाहरुको चल अचल सम्पत्ति दुरुपयोग विरुद्ध सशक्त संघर्ष गर्ने ।
न. लागूपदार्थ दुर्व्यसनी, यौनहिंसा, दाइजो प्रथा, जातीय विभेद, छाउपडी प्रथालगायत विभिन्न सामाजिक कुरीतीविरुद्ध संघर्ष गर्ने ।
प. सिमा अतिक्रमण र भारतिय हस्तक्षेपका विरुद्ध संघर्ष गर्ने ।
५) समसामयिक माग र प्रस्तावहरु ः–
क. शिक्षामा निजीकरण, व्यापारीकरण, माफियाकरणको अन्त्यका साथै सम्पूर्ण दायित्व राज्यले बहन गर्ने सुनिश्चितता सहित उत्पादन र श्रमसँग जोड्ने निती सहितको शिक्षा ऐन तत्काल जारि गर्न जोडदार माग गर्दछौं ।
ख. शिक्षाका नाममा भइरहेको प्रतिभा र पुँजी पलायन रोक्न विद्यार्थीहरुलाई स्वदेशमा अध्ययन र कामको व्यवस्था गर्न माग गर्दछौं ।
ग. बढ्दो छात्राहिंसा नियन्त्रण गर्न, कथित सुन्दरी प्रतियोगिता खारेज गर्न र छात्रा सशक्तिकरण कार्यक्रम हरेक शिक्षालयमा सन्चालन गर्न जोडदार माग गर्दछौं । साथै लागु पदार्थ दुर्व्यसनीको महामारी नियन्त्रण गर्न जोडदार माग गर्दछौं ।
घ. यो राष्ट्रिय सम्मेलन महिला र पुरुष खेलाडीबिच विभेद नगर्न र पर्याप्त सेवा, सुविधा, तलब र भत्ताको व्यवस्था गर्न जोडदार माग गर्दछ ।
ङ. नेपालको राष्ट्रियता र सार्वभौमिकता समेत खतरामा पर्ने गरी अमेरिकी सैन्य रणनीति अन्तर्गतको राष्ट्रघाती एमसिसि र एसपिपि सम्झौतालगायत विगतमा गरिएका सम्पूर्ण राष्ट्रियता विरोधी, अन्यायपूर्ण र असमान सन्धी सम्झौता खारेज गर्न जोडदार माग गर्दछौं ।
च. जनजीविकाको सवालमा बढ्दो महङ्गी नियन्त्रण गर्न, जनतामाथि थोपरिएका सबैखाले वित्तिय शोषण अन्त्य गर्न, आमजनतालाई सहज प्रशासनिक सेवा सुविधा उपलब्ध गराउन, आमनागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको ग्यारेण्टी गर्न माग गर्दछौं ।
छ. पर्यावरण विनाशका कारण भइरहेको जलवायु परिवर्तनले उत्पन्न भएको समस्या र संकटहरुको सम्बन्धमा विश्वमानव समुदायको ध्यान आकृष्ट गर्दछौं । साथै पर्यावरणको रक्षाका लागि एकजुट भइ लड्न सम्पूर्ण मानव समुदायलाई अपिल गर्दछौं ।
ज. राज्यद्वारा बेपत्ता पारिएका तत्कालीन महासचिव पूर्ण पौडेल, विपिन भण्डारी, नवीन राई, दिलबहादुर राईलगायतका सम्पूर्ण बेपत्ता योद्धाहरुको स्थिति सार्वजनिक गर्न यो सम्मेलन जोडदार माग गर्दछ ।
झ. तत्कालीन नेपाल कम्युनिस्ट पार्टी र सरकार बिच २०÷११÷२०७७ मा भएको तिनबुदे सम्झौता कार्यान्वयन गर्दै सम्पुर्ण राजबन्दीहरुको रिहाईका लागि जोडदार माग गर्दैछौं ।
ञ. साम्राज्यवादी देशहरूले साना र कमजोर मुलुकमा गरिरहेको अन्यायपूर्ण हस्तक्षेप र उत्पीडनको घोर विरोध गर्दै संसारभर श्रमजिवी र उत्पीडित जनताको पक्षमा भइरहेको सम्पूर्ण क्रान्तिकारी संघर्षको दृढ समर्थन गर्दछौं ।
ट. जनयुद्धका महान सहिद बेनोज अधिकारी, एकिकृत जनक्रान्तिका महान सहिद क. प्रज्वल शाहीलगायत सम्पूर्ण महान सहिदहरु र नेपाली विद्यार्थी आन्दोलनका सम्पूर्ण सहिदहरुप्रति यो सम्मेलन उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दछ ।
अन्तमा, सम्मेलनलाई भव्य र ऐतिहासिक रुपमा सफल बनाउन सम्मेलन उद्घाटनदेखि अन्तिमसम्म सहभागिता जनाउनु हुने नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव क. कञ्चन, पार्टी महाधिवेशन आयोजक समिति सदस्य तथा संगठनका फ्र्याक्सन ईन्चार्ज क. शरद, पार्टी कार्यालय सचिव क.दिपेन्द्र, ४ नम्बर ब्युरो ईन्चार्ज क. अनन्त, संगठनका निवर्तमान अध्यक्ष क.मिलन राई, सम्मेलन व्यवस्थापनमा अहोरात्र खटिनुहुने कास्की जिल्ला पार्टी लगायत सम्पुर्णमा हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछौं । आफ्नो अमूल्य समय छुट्याएर सम्मेलनमा सहभागि हुने अतिथि, प्रतिनिधि÷पर्यवेक्षक कमरेडहरु, पत्रकार मित्रहरुलाई विशेष धन्यवाद । सम्मेलन सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरुमा हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दछौं । नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलनमा रहेको त्याग, समर्पण, बलिदान र संघर्षको विरासतलाई कायम राख्दै निरन्तर परिवर्तनकारी संघर्षका मोर्चाहरुमा अग्रपंक्तिमा उभिने प्रतिबद्धता व्यक्त गर्दछौं ।
क्रान्तिकारी अभिवादन सहित !
विरेन्द्र शाह
अध्यक्ष
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्