
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को संस्थापक केन्द्रीय सदस्यहरूको राष्ट्रिय भेलाले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदमुक्त गरेको छ ।
पार्टीको अनुशासन समितिले पेस गरेको प्रस्तावलाई भेलाले बहुमतका साथ पारित गरेको संयोजक रामलाल डंगौरा थारूले जानकारी दिएका छन् ।
भेलाले श्रेष्ठलाई अध्यक्ष पदसँगै साधारण सदस्यबाट समेत हटाउने निर्णय गरेको हो । ‘बहुमत सदस्यको निर्णयअनुसार अध्यक्ष श्रेष्ठलाई स्पष्टीकरण मागिएको थियो,’ संयोजक थारूले भने, ‘तर, उहाँले न स्पष्टीकरण दिनुभयो, न भेलामा सहभागिता जनाउनुभयो । त्यसपछि अनुशासन आयोगको प्रस्तावमा उहाँलाई अध्यक्षबाट हटाउने निर्णय अनुमोदन गरिएको हो ।’
यस निर्णयसँगै पार्टीको नेतृत्वमा ठूलो परिवर्तन देखिएको छ । अब नयाँ अध्यक्ष चयनका लागि प्रक्रिया सुरु हुने भएको छ । थारूका अनुसार अध्यक्ष चयनबारे थप छलफल आवश्यक भएकाले भेला भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।
भेलाले २०७८ सालमा टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनमा सर्वसम्मत भएका २०१ जना केन्द्रीय सदस्यहरूको अद्यावधिक विवरण निर्वाचन आयोगमा बुझाउने निर्णयसमेत गरेको छ । यद्यपि टीकापुर महाधिवेशनको वैधानिकता सम्बन्धी मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ ।
पार्टी संरक्षक रेशम चौधरीले अध्यक्ष श्रेष्ठले विधान विपरीत कार्यवाहक तोकेको आरोप लगाउँदै त्यसप्रति असन्तुष्टि जनाएका छन् । ‘अध्यक्षले पार्टीको केन्द्रीय समिति बोलाएर स्पष्टीकरण दिनुपर्नेमा एकलौटी रूपमा कार्यवाहक तोकिएको छ, जुन विधान विपरीत हो,’ चौधरीले भने ।
पछिल्लो विवादित अडियो प्रकरणपछि अध्यक्ष श्रेष्ठले स्वास्थ्य समस्याको कारण देखाउँदै पोखरा निवासी शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पेकी थिइन् ।
तर, श्रेष्ठको यो कदमले पार्टीभित्र थप असन्तुष्टि चुलिएको थियो । रेशम पक्षधर बहुमत सदस्यहरूको भेलाले उक्त निर्णयप्रति खेद प्रकट गर्दै स्पष्टीकरण माग्ने निर्णय गरेको थियो ।
यता अध्यक्ष रञ्जिता श्रेष्ठले भने रेशम चौधरी पक्षको भेला अवैधानिक भएको दाबी गर्दै आएकी छन् ।
उनले उक्त भेलाको कुनै औपचारिकता र वैधानिकता नरहेको प्रतिक्रिया दिँदै नेतृत्व हटाउने निर्णय अस्वीकार्य रहेको जनाउँदै आएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्