बुटवल– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौँ जनता सडकमा उतारेर खबरदारी गरिने बताएका छन् ।
मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैटौँ राष्ट्रिय सम्मेलन बुटवलमा उद्घाटन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
अहिलेको सत्ता गठबन्धनले भ्रष्टाचारी र बिचौलियाको पक्षमा गरिरहेको बेलगाम गतिविधिका कारण जनतामा निराशा र असन्तुष्टि बढ्दै गएको देखेर इतिहासको रछ्यानमा मिल्काइएका प्रतिगामी तत्त्वहरूले धमिलो पानीमा माछा मार्न खोजेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यी दुवै हर्कतका विरुद्ध आवश्यक परे लाखौँ जनता सडकमा उतारेर खबरदारी गर्ने बताए ।
अहिलेको राजनीति परिवर्तन विशेषतः संघीय लोकतान्त्रिक गणतन्त्रको जननी शक्तिको हैसियतले आफ्नो पार्टीले गणतान्त्रिक व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि सबै परिवर्तनकारी शक्ति र जनतालाई लिएर जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको उनले स्पष्ट गरे । त्यसका लागि पार्टीले अपिल गर्दा लाखौँ जनता काठमाडौंमा लाखौँ जनता सडकमा उत्रने बताए ।
अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी एजेन्डामा जानु रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पछाडि फर्कने तर्फ कसैले सोचे राम्रो नहुने बताए ।
प्रतिक्रिया दिनुहोस्