
काठमाडौं । बागमती प्रदेशमा राजनीतिक संकट गहिरिएको छ । मुख्यमन्त्री बहादुरसिंह लामा आफ्नै दल नेपाली काँग्रेसका सांसदहरूको अविश्वासको प्रस्तावको सामना गर्ने स्थिति आएको हो ।
आर्थिक वर्ष २०८२/८३ को बजेटलाई लिएर चर्किएको विवाद उत्कर्षमा पुग्दा काँग्रेसकै २१ सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रदेश सरकारको भविष्य नै अनिश्चित बनेको छ । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री लामाविरुद्ध पार्टीभित्रकै प्रभावशाली नेता इन्द्र बानियाँको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता भएको हो । बजेट निर्माण प्रक्रिया र विनियोजनमा मुख्यमन्त्री लामाले एकलौटी गरेको भन्दै असन्तुष्ट पक्षले नेतृत्व परिवर्तनको मागसहित यो कदम चालेको हो ।
यद्यपि, मुख्यमन्त्री लामाले आफू भाग्ने नभई संसदमा अविश्वासको प्रस्तावको दृढतापूर्वक सामना गर्ने बताएका छन् । यो राजनीतिक घटनाक्रमलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नजिकबाट नियालिरहेको छ । एमालेका बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले यसलाई काँग्रेसको नितान्त आन्तरिक मामिलाको संज्ञा दिँदै आफूहरूले कुनै हस्तक्षेप वा सल्लाह नदिने स्पष्ट पारेका छन् । उनले प्रदेश सरकारमाथि प्रश्न उठिरहेको बेला यस्ता गतिविधिले अस्थिरतालाई झनै बढावा दिने भन्दै चिन्ता व्यक्त गरे ।
नेता थपलियाले भने, ‘बागमती प्रदेशको मुख्यमन्त्रीज्युको विषयमा नेपाली काँग्रेसका सांसदहरुबाटै अविश्वासको प्रश्ताव दर्ता भएको कुरा छ । यो उहाँहरुको नितान्त पार्टी भित्रको समस्या भएकाले पार्टीको चासो हो । हामीले त्यति ध्यान दिएका छैनौँ। अन्य पार्टीको आन्तरिक मामिलामा चासो राखिराख्न हामीलाई आवश्यक छैन । नितान्त उहाँहरुको विषय हो । जे गर्ने हो छिटो टुंग्याउनुस् भन्ने हो । त्यो नहुनुपर्दथ्यो । सरकारलाई अस्थिरतामा राख्नु हुँदैन, विकासका काममा यसले अवरोध गर्दछ । प्रदेश सरकार अस्थिर भयो, विकासका कामहरु नहुने भए भन्ने प्रश्न छ। यस्तो कुरा आउनु ठिक होइन । चाँडो भन्दा चाँडो समस्या समाधान हुनुपर्छ। हाम्रो प्रत्यक्ष कुनै हस्तक्षेप, सल्लाह केही पनि हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्