images
images
  • पहलगाम आक्रमणपछि भारतको कठोर कदम : पाकिस्तानीलाई देश छाड्न अल्टिमेटम

    काठमाडौं । काश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानप्रति कडा धारणा सार्वजनिक गरेको छ ।

    प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बुधबार बसेको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् बैठकले पाकिस्तान विरुद्ध ६ वटा कडा निर्णय लिएको छ ।

    बैठकपछि भारतले सबै पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र देश छाड्न निर्देशन दिएको छ । साथै, भारतमा रहेका पाकिस्तानी कूटनीतिज्ञहरूलाई ७ दिनभित्र स्वदेश फर्किन आदेश दिइएको छ ।

    यसका अतिरिक्त पाकिस्तान उच्चायोगमा कार्यरत कर्मचारीहरूको संख्या ५५ बाट घटाएर ३० मा सीमित गरिने निर्णय गरिएको छ । भारत सरकारले पाकिस्तानी नागरिकलाई जारी गरिएका सबै प्रकारका भिसा रद्द गर्ने घोषणा गरेको छ ।

    पाकिस्तानसँगको अटारी–वाघा सीमा नाका बन्द गर्ने निर्णय पनि गरिएको छ । साथै, दुई देशबीचको ऐतिहासिक सिन्धु जल सम्झौता समेत स्थगित गरिएको छ ।

    झण्डै साढे दुई घण्टा चलेको उक्त बैठकमा रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल लगायत उच्च अधिकारीहरू सहभागी थिए ।

    मंगलबार काश्मिरको पहलगामस्थित बैसरणमा भएको आतंकवादी आक्रमणमा २७ जना पर्यटकको ज्यान गएको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आतंककारीहरूले पीडितको धर्म पहिचान गरी हत्या गरेका थिए ।

    घटनापछि बुधबार श्रीनगरदेखि दिल्लीसम्म उच्च स्तरीय बैठकहरू आयोजित भए । भारतीय सरकारले स्थिति गम्भीर रहेको भन्दै बिहीबार सर्वदलीय बैठक पनि आह्वान गरेको छ । भारतको पछिल्लो कदमले दक्षिण एशियाली कूटनीतिमा तनाव बढ्न सक्ने संकेत देखिएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्