
बिहानै फोनको घन्टी बज्यो। उठाएँ। अर्को छेउमा थिए मेरा पुराना पत्रकार मित्र — एकजना तीक्ष्ण, जिज्ञासु र सधैं नयाँ कुरा खोजिरहने पत्रकार। बोल्नासाथै उहाँले सिधा प्रश्न गर्नुभयो:
“तपाईंले पत्रकारिता गर्नु भएको पनि अब दुई दशक पुगिसक्यो। तर तपाईंले खोज पत्रकारिता किन गर्नु भएन? चाहनु भएको थिएन कि कसैले तपाईंको हात बाँधिदिएको थियो?”
उहाँको प्रश्न सुन्नासाथ म केही क्षण मौन भएँ। शरीर शान्त थियो, तर मनभित्र अनेक प्रश्नहरू गुन्जिन थाले। साँच्चै — मैले खोज पत्रकारिता किन नगरेँ?
दुई दशकको यो यात्रामा मैले समाजका अनगिन्ती पक्षहरू देखेँ। मैले गरिबीका चिरा चिरेर हेरेँ, दुःखका कथा लेखेँ, शासकहरूका भाषण रिपोर्ट गरेँ, पीडितका आँखाबाट आँसु टिपेर शब्द बनाएँ। पत्रकारितालाई केवल पेशा होइन, जिम्मेवारी सम्झेर काम गरेँ। तर खोज पत्रकारिता? त्यो त अझै गहिरो खोतलाइ हो — शक्ति र संरचनालाई चुनौती दिने, सत्य उजागर गर्ने दुस्साहसिक मार्ग।
उहाँको प्रश्नले मलाई झस्कायो। त्यो केवल एउटा जिज्ञासा थिएन, त्यो त मेरो यात्राप्रतिको आत्मपरीक्षण थियो। किन नगरेँ त? के डर थियो? कि अवसर थिएन? कि मेरो ध्यान सधैं तत्कालीन आवश्यकतामा केन्द्रित रह्यो — भोलिको सचेतनाभन्दा आजको सूचना दिनमै सीमित?
कहिलेकाहीँ हामी आफ्नो कामप्रति इमानदार भएर पनि केही कुरा छुटाउँछौं। सायद समयले हामीलाई त्यो बाटोमा डोर्याएन। सायद परिस्थितिले प्राथमिकता फेरियो। सायद… हामी आफैंलाई कहिल्यै त्यो प्रश्न सोध्नै बिर्सन्छौं — “के म अझ केही गर्न सक्थेँ?”
आज त्यो प्रश्नले मलाई मौन बनायो। म जवाफ बिहीन थिएँ, तर त्यो मौनताले मलाई पुनः सोच्न बाध्य बनायो। खोज पत्रकारिता नगरेकोमा पछुतो छैन, तर अब लागिरहेको छ — त्यो बाटो पनि हिँड्न सकिन्थ्यो, हिँड्नुपर्ने थियो। किनभने सत्यको खोजी कहिल्यै पुरा हुँदैन। त्यो यात्रा त जीवनभरको हो।
साथीको एउटा प्रश्नले मलाई फेरि एकपटक कलम समातेर गहिरो खोजतर्फ उन्मुख गराएको छ। अब लाग्दैछ — अझ केही लेख्न बाँकी छ। अझ केही उजागर गर्नुपर्ने छ। अझ केही सच्याउनुपर्ने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्