
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता रवीन्द्र मिश्र र राजावादी आन्दोलनका अगुवा दुर्गा प्रसाईंसहित २४ जनालाई जिल्ला अदालत, काठमाडौंले थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ।
काठमाडौ जिल्ला अदालतका न्यायाधीश इश्वरी प्रसादको इजलासले गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो ।
राज्य विरुद्धको कसुरमा म्याद थप हुनेहरुमा पुस्कर खतिवडा, गोपाल मल्ल, मुनिन्द्र राज भण्डारी, गोपिकृष्ण खड्का, सन्तोष चौधरी, रामकुकमार धिमाल, पशुपति खड्का, हरिहर चौलागाईं, विष्णु पराजुली, तेजेन्द्र रायमाझी, सन्तोष कुमार सिलवाल, सरोज गौतम, गोकर्ण शाही र दुर्गा प्रसाईंका सहयोगी दीपक खड्का लगायत २४ जना छन् ।
यसअघि सरकारी वकिलहरूले मिश्र र प्रसाईंलाई २० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अदालतसँग अनुमति मागेका थिए। वैशाख १० गते अदालतले तीन दिनको म्याद थप गर्दै मिश्रको बयान सकिएको र प्रसाईंको बयान जारी रहेको उल्लेख गरेको थियो। साथै, थप प्रमाण नभए तीन दिनभित्र उनीहरूलाई तारेख वा हाजिर जमानतमा छाड्न आदेश दिएको थियो।
तर, प्रहरीले थप अनुसन्धान गर्नुपर्ने विषयहरू बाँकी नै रहेको भन्दै पुनः म्याद थपको माग गरेको थियो। अदालतमा भएको सुनुवाइका क्रममा मिश्रले प्रहरीले आफ्नै अगाडि अश्रुग्यास प्रहार गर्दा नवराज सुवेदी घाइते भएपछि आफू आवेगमा आएको बताएका थिए। यद्यपि, उनले ढुंगामुढा वा तोडफोड गर्न आफूले कसैलाई पनि नभनेको दाबी गरेका थिए।
यसअघि अदालतले मिश्र र प्रसाईंको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै कम दिनको म्याद थप गरेको थियो। उनीहरूले स्वास्थ्यको कारण देखाउँदै हाजिर जमानतमा रिहा गर्न माग गर्दै अदालतमा निवेदन पनि दिएका थिए।
यसै घटनामा पक्राउ परेका राप्रपाका सांसद धवलशमशेर राणालाई भने प्रहरीले स्वास्थ्यको कारण देखाउँदै एक साताअघि रिहा गरिसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्