
काठमाडौं । शिक्षकहरूको आन्दोलनले तीव्र रूप लिँदै जाँदा नेपाल शिक्षक महासंघले आन्दोलनलाई शान्तिपूर्ण, अनुशासित र संयमित बनाउने अपिल गरेको छ । महासंघले आन्दोलनलाई सार्थक र परिणाममुखी बनाउन धैर्यता र अनुशासन अपरिहार्य रहेको उल्लेख गर्दै सबै शिक्षकलाई निर्धारित स्थान र विधिमा मात्र सहभागी हुन अनुरोध गरेको हो ।
महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलनप्रति गम्भीर जिम्मेवारीका साथ प्रस्तुत हुन आह्वान गर्दै भने, ‘आन्दोलन स्वभावतः जटिल प्रक्रिया हो । अत: भावनात्मक वा हठात् निर्णयबाट टाढा रहनु जरुरी छ ।’
सुवेदीले बजारमा फैलिएका हल्ला तथा गलत सूचनामा विश्वास नगर्न आग्रह गरेका छन् । साथै, आन्दोलनको मूल उद्देश्य प्राप्त गर्न थप सक्रियता र समर्पणका साथ सहभागी हुन शिक्षकहरूलाई प्रेरित गरेका छन् । महासंघको कार्यक्रमअनुसार आज पनि बिहान ९ बजेदेखि १२ बजेसम्म शान्तिपूर्ण आन्दोलन जारी रहनेछ। पछिल्ला केही दिनदेखि यस्तो समयसारणीमा नियमितरूपमा आन्दोलन हुँदै आएको छ ।
यसैबीच, शिक्षकहरूको दबाबपूर्ण आन्दोलनका कारण शिक्षामन्त्री विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएकी छन् । शिक्षकका मागप्रति आफू सकारात्मक रहेको बताउँदै उनले पद त्याग गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्